म कविता लेख्दिँन
- नवीन मनोहर
झरीले पखालेका गिरिराजका स्निग्ध चुचुराहरुमा
मैले तिम्रा सकल उन्नत उरोजका प्रतिकृति देखेँ
पहाडको खोँचबाट नैरन्तर प्रवाहमान् निर्झर
तिम्रा सजल आँखाबाट बहेगा आँसुझैँ लाग्छन्
पहाडका नागी
र समथर फाँटहरुलाई
मैले तिम्रो सुडौल शरीरसँग तुलना गरेको छु
हिमालका सेता हिउँ
तिम्रा दारिम दन्त लहरझैँ लाग्छन्
भन्ज्याङ्को होचो त्यो भाग
किनकिन म तिम्रै कटि प्रदेशसँग तुलना गर्न रुचाउँछु,
यसरी नै मैले तिम्रो
जीवनभर
सप्रसङ्ग व्याख्या गरेर कहिल्यै सिद्धिदैन
बरू मेरा कल्पित वाणिहरु निखिएलान्
तर तिम्रो रुपको सौन्दर्य
कहिल्यै रित्तिँदैन,
काली !
ए ! मायाकी काली
सुस्तरी भन ल एकपटक पुनः
तिम्रो बखान गरेर
जीवनभर
मजस्तो कुनै कवि
शब्द चित्रमा किन थाक्दैन हँ ?






