पेशल आचार्यका दुई कविता

यत्न
–  पेशल आचार्य

जीवन अनुकरण
या अनुकरणको पनि
अनुकरण,

प्रयास
जुनेली किरणहरू
अन्माउन
आवश्यकता गर्दैछ
यात्रामा
धेरै अपसकुन भए
साइपाटाको कुनै काम हुँदैन
विचारको स्वयम्वरमा
शुक्र अन्ध भएको छ
यतिबेला
टारी खेतमा
शंका चियाएको
पारि बारीमा
डर डुक्रिएको
रिहर्षल गर्दैछन्
उज्यालोका भातखौरेहरू,

कुमारी सिउँदोमा
सृष्टि दौडाउन
चाहन्छु म
विचारको पोया
मिलाउन
कृपया आऊ समाऊ
हाम्रा हातहरू,

हामीसँगै हिँड्ने
यत्न गरिरहेछौं ।
𞉀 𞉀

ऊ लेख्छ
ऊ मासका लागि होइन
क्रिटिकल मासका लागि लेख्छ
र राम्रा कविहरूमा
दरिएको छ,

अब कवितामा
सरलता र जटिलताका कुरा
पञ्चायतजस्तै
पोलिटिकल्ली अन करेक्ट ‘डिस्कोर्स’ भैसक्यो
कविले
आफ्ना कविता बुझाउँदै हिँड्ने होइन
यो आख्यान र
निबन्धजस्तो निर्बन्ध विधा होइन
कवितालाई
संरचनागत विधान अपनाउँदै
परको अबोधगम्य क्षितिजतिर
ताक्नु पर्ने चिर चुनौति पनि त छ,

ऊ शब्दकै
मदिारापान गर्छ
ऊ शब्दकै आवरणमा नसाको
समुद्र तर्छ,

शब्दलाई
खेलाउँदैन ऊ
शब्दले खेलाउँछन्
उसलाई ।

𞉀 𞉀

यसमा तपाइको मत

अन्य समाचार