– नवीन मनोहर
जतिजति तिम्रो उचाइ चुलिन्छ नि
त्यतित्यति तिम्रो माया मलाई लाग्छ
हाम्रो माया
दुनियाँले भन्थ्यो
नदीका दुई किनारा हुन्
जो कहिल्यै भेट हुँदैनन्
तर यो पापी दुनियाँलाई के थाहा ?
साँचो माया त नदीका दुई किनाराबीच नै हुन्छ
जसले कहिले पनि साथ छाड्दैन
उद्गमदेखि सागरसम्म
चरैवेती चरैवेती
निरन्तर प्रवाहमय भएर
हिँडिरहन्छ/दौडिरहन्छ
न कसैसँग गुनासो छ
न कसैसँग रिसराग छ
कुनै इगो छैन
कुनै उद्देश्य छैन
मात्र बग्नुको चिन्ता छ
बगिरह्यो
बगिरह्यो
बगिरह्यो,
छाँगो भएर झर्यो
ताल भएर जम्यो
खोल्सी भएर करायो
खोली भएर सुसायो
नदी भएर इमान्दारपूर्वक सनननन बग्या
तर बगिरह्यो
धर्म नबिर्सी बगिरह्यो,
सान्नानी, यो हाम्रो जीवन भनेको नि
हो त्यस्तै नदीझैँ त हो ।






