काठमाडौं,
साउन २१ ।
थप ३ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३ सय ८१ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या २१ हजार ३ सय ९० पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १ सय ३० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १५ हजार १ सय ५६ निको भएर घर फर्किएका छन् । उनका अनुसार ६ हजार १७४ सक्रिय सङ्क्रमित छन् । गत २४ घन्टामा ६ हजार ३५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख १२ हजार ९५३ पीसीआर परीक्षण भइसकेको छ । यस्तै क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या ९ हजार ९ सय २५ रहेको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हुनेको सङ्ख्या ६० पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो । उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशलल मेडिकल कलेज विरगञ्ज लाने क्रममा मृत्यु भएको थियो । स्वाब सङ्कलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको साउन २० गते कोरोना पुष्टि भएको हो ।
त्यसैगरी अर्का मृतकमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका बस्ने ४६ वर्षीय एक पुरुषको साउन २१ गते बुधबार कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । उनी केही वर्षदेखि मधुमेह रोगबाट पीडित थिए ।






