थप १ सय जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुग्यो

काठमाडौं,
साउन ७ ।

थप १ सय जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ ।

नयाँ सङ्क्रमितमा सप्तरीका १८, दैलेखका १६, सुनसरीका ४, मोरङका ३, झापाका १, ताप्लेजुङका ३, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौंका ३, सर्लाहीका २, चितवनका १, सर्लाहीका १, लमजुङका ७, स्याङ्जाका ३, बागलुङका ३, बाँकेका ३, बर्दियाका २, सल्यानका २, कालीकोटका ६, बझाङका १ र डोटीका ७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ७ जना कोरोना सङ्क्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ६ सय ८४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली पुरुष र एक चिनियाँ महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । मृत्युहुनेमा धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय वृद्ध र ४९ वर्षीया चिनियाँ महिला रहेका छन् ।

धनुषाका पुरुषलाई खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २ गते भर्ना गरिएको थियो । उनको साउन ६ गते मृत्यु भएको हो । नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको छ ।

त्यसैगरी पोखरामा काम गर्दै आएकी चिनियाँ महिलालाई उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि साउन २ गते हेलिकोप्टरबाट ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याएको थियो । उनको बुधबार उपचारका क्रममै त्रिवि शिक्षा अस्पतालमा निधन भएको हो ।

योसँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार