पुष्पलालको ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,
असार ७ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो ।

नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर सङ्घर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालको स्मृतिमा आज पुष्पलाल अध्यनन केन्द्रलगायत नेकपा तथा त्यसका भ्रातृ संस्थाहरूले सामाजिक दूरी कायम हुने गरी कार्यक्रमहरू आयोजना गरेका छन् ।

नेपालमा कम्युनिष्ट आन्दोलानको सूत्रपात गर्ने पुष्पलाल समग्र नेपाली राजनीतिमै उच्च सम्मानका साथ लिइने नाम हो । उहाँका दाजु गंगालाल श्रेष्ठ राणाविरोधी आन्दोलनमा लागेका कारण १९९७ मा अन्य तीनजनासँगै निरंकुश राणा शासकबाट मारिनुभएको थियो । चार शहीदमध्येका एक गंगालालको सपना साकार पार्ने प्रणसहित पुष्पलाल पनि राजनीतिमा होमिनुभएको थियो ।

दाजु गंगालाललाई मारेको एक वर्षपछि अर्थात् १९९८ सालमा पुष्पलाल श्रेष्ठकै अगुवाइमा प्रेमबादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज, राजारामहरू सम्मिलित राजनीतिक सङ्गठन नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरिएको थियो ।

मार्क्स र लेनिनका विचारबाट प्रभावित पुष्पलालले यिनै विचारलाई आत्मसात् गर्दै वि.सं.२००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार