१२०औँ दिनमा लकडाउन अन्त्य

काठमाडौं,
साउन ६ ।

कोरोना भाइरस (कोभिड-१९)को महामारीको रोकथाम र नियन्त्रण भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

सरकारले नेपालमा दोस्रो कोरोना सङ्क्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१औँ दिनमा लकडाउन अन्त्य भएको छ । तर, चैत्र ११ पूर्वको झैँ सामान्य अवस्थाका सबै प्रतिबन्धहरू अझै खुलाइएको छैन् । यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरू गर्न दिइने भएको छ । सरकारले अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । यस्तै सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ । लकडाउनमा स्थगित गरिएका तर, के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । तर, पठनपाठन भने त्यो मितिबाट नहुने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार