काठमाडौं,
साउन ३ ।
यतिवेला कोरोना भाइरस (कोभिड-१९)को सङ्मणका कारण नेपाली चलचित्र क्षेत्र ठप्प छ । कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको लामो समयको ‘लकडाउन’ केही खुकुलो भएपछि विभिन्न क्षेत्र खेलेपनि चलचित्र क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि चलचित्र क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न चलचित्रकर्मीहरुले सरकारसँग माग गर्दै आइरहेका छन् ।
यस्तैमा चलचित्र निर्माता सङ्घ, चलचित्र प्राविधिक सङ्घ, चलचित्र कलाकार सङ्घको एक टोलीले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरेर चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् । चलचित्रकर्मीको टोलीले गर्भनर अधिकारीलाई ज्ञापन पत्र बुझाउदै चलचित्र क्षेत्र अतिप्रभावित क्षेत्रमा राख्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा चलचित्रकर्मीले यो क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखेर उचित सहयोग गर्दै तत्काल चलयमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, बैंकिङ कर्जा पुर्नतालिका, लकाडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयवधि लकडाउन खुलेपछि ६ महिना थप गर्न माग लगायत बुदा समावेश छन् ।
भेटमा गर्भनर अधिकारीले नेपाली चलचित्र क्षेत्रको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन् । निर्माता सङ्घको मागलाई गभर्नर अधिकारीले सकरात्मक तरिकाले लिएको निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।






