काठमाडौं,
साउन २ ।
विश्व नै कोरोना भाइरस (कोभिड–१९)का कारण त्रसित छ । भाइरसको विश्वब्यापी महामारी फैलिँदै गरेपनि पछिल्लो समय भने मानिसहरु विस्तारै पुरानै दैनिकिमा फर्किँदैछन्, फर्किने बाटो खोजिरहेका छन् । नेपालमा पनि यो क्रम सुरु भइसकेको छ ।
व्यापार व्यवसायदेखि होटल रेष्टुराँहरु खुल्ने क्रम बढ्दै गर्दा सजकता नअपनाए समुदायस्तरमा थप जोखिम बढ्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् । यो बीचमा राजधानीमा एक युवाहरुको टिमले अभियान नै चलाएर जोखिम न्युनिकरणको लागी कदम अघि बढाएको छ ।
चलचित्रकर्मी सामाजिक अभियन्ता करण श्रेष्ठसहितको टिमले कोरोनाबाट बच्न ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौं’ नारा लिएर अभियान सुरु गरेको हो । राजधानीको अनामनगरबाट सुरु गरिएको अभियान प्रत्येक दिन अन्य स्थानमा फैलाउँदै लैजाने करणले बताए ।
अहिले मास्कको उपयोगिता ‘वान टू वान’ बुझाउँदै छौं, नलगाइ हिँड्नेलाई मास्कनै वितरण गरिरहेका छौं, करणले भने, ‘योसँगै चोक चोक र धेरै भिडभाड हुने ठाउँमा साबुन र पानीको व्यवस्था गर्दै हात धुने वातावरण पनि बनाउँदै छौं ।’
जागौं युवा अभियानको तर्फबाट सुरु गरिएको यो अभियानलाई अनामनगरहुँदै पुतलिसडक, मैंतिदेवी, चावहिल, बानेश्वर, कोटेश्वर, सातदोबाटो, जावलाखेललगायतका ठाउँमा पनि तिब्रता दिने उनले बताए । उक्त अभियानको नाममा कोरोनाबाट बच्ने सावधानीका उपायहरु लेखिएका चेतनामुलक प्रचा, पम्पलेटसमेत विभिन्न ठाउँमा टाँसिएको छ ।
जागौं युवा अभियानको तर्फबाट यसअघि अनामनगर हरियाली अभियान चलाइएको थियो । दुई बर्ष पहिलेदेखि क्रियाशिल यो अभियानको तर्फबाट अनामनगर क्षेत्रमा सयौं विरुवाहरु रोपिएका थिए ।






