काठमाडौं,
साउन २ ।
थप १ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय १ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
नयाँ सङ्क्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना सङ्क्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ५ सय ३४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८ सय २९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ६ सय ८८ परीक्षण भएका छन् ।
हालसम्म देशभरका २२ हजार ७ सय ५६ क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय ७१ जना कोरोना सङ्क्रमित आइसोलेसनमा छन् ।
नोभेल कोरोना भाइरसको सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका राजविराज नगरपालिका-१ का ७३ वर्षीय एक पुरुष रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनी मधुमेह र मुटुका दीर्घरोगी रहेका थिए । उनी असार १ गते बेलुका खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा भर्ना भएका थिए ।
उनको साउन १ गते राति १०ः१५ बजे निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनी इमर्जेन्सीमा आएपछि स्वाब सङ्कलन गरिएको र उक्त स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।






