काठमाडौं बाहिर पहिलो सङ्क्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशमा

पोखरा
साउन २ ।

पोखरा महानगरपालिका वडा नं. ३० को मोहोरियामा गण्डकी प्रदेश सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा आउने भएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएसँगै गण्डकी प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पताल नामकरण गरिएको छ ।

स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माको रोहोवरमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिब तेजप्रसाद काफ्लेबीच उक्त अस्पताल गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७७ साउन १ गते अस्पताल स्वामित्व हस्तान्तरण तथा उद्घाटन समारोहको आयोजनागरी अस्पतालका अध्यक्ष रमानाथ पौडेल र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच उक्त सम्झौतापत्र साटासाट गरिएको थियो । स्थानीय जनस्तरको सहयोगमा वि. सं. २०६० साल फाल्गुणमा महायज्ञ गरी २०६२ सालदेखि सञ्चालनमा रहेको उक्त अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, कास्की क्षेत्र नं. १(१) का सांसद एवम् गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला समेतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण पश्चात प्रदेश सरकारले अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रुपमा सञ्चालनमा ल्याउने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको स्तरोन्नती गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामुदायिक अस्पताललाई प्रदेशकै पहिलो र सङ्घीय सरकार मातहतको दोस्रो सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेकोमा गण्डकी प्रदेश सरकार र अस्पतालका संस्थापकहरुलाई धन्यवाद व्यक्तगर्नुभएको थियो ।

उहाँले अस्पताललाई प्रदेशकै विशिष्ट अस्पतालको रुपमा विकास गर्ने मुख्यमन्त्रीको योजनाले गण्डकी प्रदेश स्वास्थ्यको क्षेत्रमा अग्रपंत्तिमा रहेको छ भन्ने महसूस भएको बताउनुभयो । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले अस्पताल स्थापनार्थ स्थानीयले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा अस्पतालको विकास र प्रगती हुदै जाने विश्वास व्यक्तगर्नुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिष्ट्क्टि ३२५ वी १ नेपालको तर्फबाट विशेश्वर आचार्यले जनस्तरबाट निर्माण भएको अस्पतालले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने विश्वास ब्यक्तगर्नुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले भावी योजना र अस्पतालको गतिविधीका बारेमा जानकारी गराउनु भएको थियो ।

अस्पताल विकास समितिका सचिव कृष्ण तिवारीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्वअध्यक्ष मेजर रामप्रसाद गुरुङले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार