मरिन खोलाको पुलका लागि वडाको दश लाख

सिन्धुली,
साउन १ ।

वर्षातको समयमा ग्रामिण भेगका जनताहरु अलि बढी नै समस्यामा पर्ने गर्छन् । डाँडा पाखाकालाई पहिरोको डर रहन्छ भने खोला किनाराकालाई बाढीको चिन्ता रहन्छ । हिउँदमा विर्सने र वर्षामा बाढी आउन थालेपछि मात्र सम्झने सिन्धुली हरिहरपुरगढीको मरिन खोला आसपासका स्थानिय जनताको आफ्नै समस्या छन् ।

मरिन खोलामा ५० केमिको दूरिमा दुईवटा मात्र पक्का पुल भएकोले वर्षायाममा स्थानिय जनतालाई वारी, पारी गर्न अति नै कठिन हुने गरेको हरिहरपरगढी वडा नं. ५ का वडाध्यक्ष झलककुमार माझीले बताउनुभयो । धमिले र सहान जोड्ने पुलदेखि मरिन एवम् बागमती नदिको सङ्गम स्थलसम्म करिब ३५ किमिको दुरि भएर बग्ने मरिन खोलामा एक र त्यो पुल देखि मरिन र बागमती दोभानसम्म एउटा पनि पक्की पुल निर्माण भएको छैन ।

यसपालि बल्ल झोलुङ्गे पुलको निर्माण कार्य अघि बढेको छ । यो पुलले हरिहरपुरगढी ५, बोटेनी र मरिन गाउँपालिका २ सिन्दुरे जोड्ने छ । यो पुलको निर्माणले आसपासका जनतालाई आवत, जावतमा केही सहज हुने भएपनि यत्तिलेमात्र नहुने र मरिन खोलाको दक्षिण भेग चुरे क्षेत्रको सबै वस्तिहरु मदन भण्डारी राजमार्ग देखि नजिक पर्ने भएकोले खोला वारी र पारीका जनतालाई ध्यानमा राखेर काम गरिनु पर्ने देखिन्छ । हिउद याममा त जसो तसो मरिन खोला तर्न सकिन्छ ।

जव वर्षामा पानी पर्न थाल्छ वारीका जनता वारी नै पारीको पारी नै बस्नुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्नका लागि मरिन खोलामा पक्कि पुल बन्ने भएको छ । हरिहरपुरगढी ५, मा निर्माण हुने पुलले बोटेनीदेखि सिम्रास जोड्ने छ । पुल डिपिआरको लागि वडाको बजेटबाट दश लाख बिनियोजन गरिएको वडाध्यक्ष झलककुमार माझीले जानकारी गराउनु भएको छ ।

हरिहरपुरगढी ५, को वडा कार्यालय मरिन खोलाको उत्तर तीर पर्छ भने गाउँ पालिको कार्यालय पनि उत्तर तिरै पर्छ । वडा कार्यालय पनि मदनभण्डारी राजमार्गमा नै पर्ने भएकोले सेवाग्राहीहरु मरिन खोला तरेरै आउनुपर्ने हुन्छ । वडा नं. ५ को आधा जसो वस्ती मरिन खोलाको दक्षिण भेग चुरे क्षेत्रमा र आधा जसो महाभारत भेगको काभ्रे जिल्लासँग सिमाना जोडिएको छ । पुल निर्माण पछि त्यस भेगका जनतालाई बिबिध पक्षबाट सुविधा हुने र डिपिआर पछि पक्कि पुल निर्माणको लागि सरोकार वालाहरुले आ-आफ्नो ठाउँबाट पहल गर्न वडाध्यक्ष माझीले आव्हान गर्नुभएको छ भने यही मरिन खोलाले बगाएर २०५९ मा आफ्नो बुवा र मामाको ज्यान गएको पनि उहाँले स्मरण गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार