काठमाडौं,
असार २९ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मनुभएको थियो । उहाँले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्नुभएको हो ।
उहाँका ‘प्रश्नोत्तर’ ९१९१००, ‘भक्तमाला’ ९१९१०० ‘वधूशिक्षा’ ९१९१९०, ‘रामगीता’ ९१९२५० तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाँले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।
भानुभक्तका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गर्नुभएको हो ।






