टेलिभिजन मार्फत नाटक महोत्सव

काठमाडौं,
असार २८ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपालभाषा एकेडेमीद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकाङ्की नाटक महोत्सव सम्पन्न गरिएको छ । महोत्सवमा ८ वटा विभिन्न नाटक सहभागी भएका थिए । कोरोना महामारीको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागी बिना टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत नाटक महोत्सव सम्पन्न गरिएको कुरा सो एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले बताए ।

नेपालभाषाका विभिन्न एकाङ्की नाटकहरु मध्ये नाटककार मीना बज्राचार्यको लिथुको निर्देशक पवन जोशी, रामकृष्ण धिनाको थ्वपू कर्मको राजेश शाक्य, शशीकला मानन्धरको चन्द्रहारको निर्देशक आर्यम नकःमि, राजेन्द्रकुमार पुताको थौंकन्हेको रवी महर्जन, नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मीको रामकृष्ण खडगीले निर्देशन गरेका थिए भने महोत्सवमा लेखक, निर्देशक सुरेन्द्र तुलाधर को डा. कान्छाभाई, लेखक, निर्देशक कृष्ण प्रजापतिको बुंख्याचा, लेखक, निर्देशक राजु श्रेष्ठको तरकारी बन्जा पनि मन्चन गरिएको थियो ।

सो एकाङ्की महोत्सवमा सहभागी नाटकका कलाकार, लेखक, निर्देशक र सहयोगीहरूको सम्मानमा शनिवार कीर्तिपुरस्थित नेपालभाषा एकेडेमी हलमा आयोजित कार्यक्रममा आयोजक तर्फबाट धन्यबाद ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
आयोजक नेपालभाषा एकेडेमीका प्राज्ञ एवम् नाटक प्रदर्शन आयोजन समितिका संयोजक वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि प्रा. डा. चन्द्रमान वज्राचार्य र वरिष्ठ चलचित्र पत्रकार एवम् नेपालभाषा एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले प्रदर्शित नाटकहरूको समीक्षा गर्नुभएको थियो ।

नाटक प्रदर्शन समितिका सदस्य एवम् वरिष्ठ चलचित्र निर्देशक पवन जोशीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम पवित्र कसाःले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा धन्यवादपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार