विवाहको रमझम

  • लेखनाथ पोख्रेल

छोरो कहिले १६ वर्ष पुग्ला र बुहारी भित्र्याउँला भन्ने हरिकी आमा, त्यो बर्ष आफ्नो मनको धोको पुर्‍याएरै छोड्ने धुनमा हुनुहुन्थ्यो । छोराको लागि योग्य केटी खोज्न धेरैजनालाई भन्नुभएको भएपनि त्यो कामको प्रमुख जिम्मेदारी झ्याउरी दिदीलाई सुम्पिनु भएको थियो । हरिकी आमाले मनपराउनेमध्येकी एकजना नन्द हुनुहुन्थ्यो उहाँ ।

आम्बोटे धुम्मेबाकी एउटै श्रीमतीबाट जन्मिएका उन्नाइस छोराछोरी थिए । झ्याउरी, म्याउरी, न्याउरी जस्ता नाम गरेका छोरीमध्येकी काइली छोरी हुनुहुन्थ्यो झ्याउरी दिदी । उहाँको नाम मात्रै झ्याउरी थियो । तर, पारखीले पनि पारलाउन नसक्ने काम पारलगाउने क्षमता राख्नुहुन्थ्यो । उहाँको श्रीमान् दोस्रो विवाह गरेर अलग बस्नुभएको थियो । अलग घरजम गरेर बसेका आफ्नो श्रीमानलाई आठ बर्षसम्म मुद्दालडेर अदालतबाट फैसला गराई, ३८ बर्षको उमेरमा घरमा भित्र्याएर तीनओटा बच्चा जन्माउने बहादुर स्वास्नीमान्छे हुनुहुन्थ्यो उहाँ । उहाँको हिम्मतलाई मलजल पुर्‍याउने काम हरिका बा आमाले गर्नु भएकाले उहाँहरु प्रति अत्यन्तै आभारी हुनुहुन्थ्यो । स्वस्थ शरीर । अग्लो जिउडाल । गाउँ थर्कनेगरी हाँस्ने स्वभाव भएकी । आफ्नो हककोलागि कसैसँग नदब्ने । निर्धक्क भएर बोल्न र आफ्नो कुरा राख्नसक्ने, उहाँको क्षमता र हिम्मतको प्रशंसा गर्नैपर्छ ।

झ्याउरी दिदीको रोजाइमा परेकी हौँचुरका नेपालकी छोरीलाई हरिका बा आमाले दुबैले अनुमोदन गर्नु भएसँगै बिबाहको तयारी धुमधामसँग सुरुभएको थियो । बिबाहको दिन बिहानैदेखि, दिदी बहिनीलाई बेहुलो सिङ्गार्नबाट फुर्सद थिएन । हरिको बा भाइबन्धुसँग गफ गर्नमा व्यस्त हुनुहुन्थ्यो । फुर्सदिलो थिएँ त उसको भाइ शम्भु एकजना । बिबाह थियो दाजुको दङ्गपरेर रमाउनेमा उ थियो ।

पञ्चेबाजा बजाउने दमाइहरु आ-आफ्ना बाजाको सुरताल मिलाउँन थाले । ट्याम्को बजाउनेले पुल्टुङ्ग … पुल्टुङ्ग … पर्दा, झ्याम्टा बजाउनेले झ्याइं … पार्‍यो । आँगनको पर्खालमा बस्नेले, तुरु … धुइ …तुरु … धुइ … गर्दै बज्ने नर्सिङ्ग फुकेसँगै सहनाई बजाउनेले, पि … पि … पि … पि … गर्दै ताल मिलाएर बजाउन थाल्यो । कर्नाल फुक्नेले धुँ…धुँ…को धोद्रो स्वर निकालेसँगै ठुलो दमाहा बोक्नेलले ढ्वाङ्ग.. ढ्वाङ्ग…पार्दै आफ्नु दमाहा ठोक्न थाल्यो । प्रत्येक बाजाबाट निस्किने आ–आफ्नो सुरतालले त्यहाँ उपस्थित सबैको मनमा अनौठो हलचल मच्चाएको थियो । पञ्चेबाजा एकैचोटी बज्दा रन… घन… बनेको थियो बिबाह घर ।

पुल्टूङ्… पुल्टूङ् … झ्यांई …को तालमा दमाइहरु नाच्न थाले । बेलाबेलामा बज्ने नर्सिङ्ग, कर्नाल र दमाहाले जन्ती प्रस्थानको समय नजिकिँदै गरेको जानकारी दिईराखेका थिए । नाच्दानाच्दै टाउको पछाडिपट्टि फर्काएर भुईंमा राखेको पैसा मुखले टपक्क टिप्ने कलाका पारखी हुन्थे दमाइहरु । शम्भुले बासँग धेरै पटक तामाको पाँचपैसे ढ्याक मागेर, उनीहरुले पैसा टिपेको रमाइलो हेरेको थियो । उनीहरुको गीतको भाका पनि तालतालको हुन्थ्यो । सम्भुको दाजुको बिबाहमा दमाईंहरु एउटा अनौठोखालको गीतगाएर नाचीराखेका थिए । उनीहरुको भाका यस प्रकारको थियो … ।

कोर्को साइँली, कोर्को नि माइली …
कुराउनीको कोर्को नि हजुर,
ऐलेको त झिल्के नि मात्रै …
पोइ त राम्रो पोहोर को नि हजुर,
आ … है … लारिबरि … आ … है … !

आँगनमा बाजा बजाउने दमाईंहरु मस्तभएर नाच्दै थिए । घर भित्र भएका बेहुलाले नयाँलुगा र टोपी लगाएर तयार भए । दिदीले निधारमा रातो टीका र घांटीमा दुबोको ठुलो माला लगाएसँगै आमाले सगुनको दही खुवाउनु भयो । पुरोहितले ठिक समयमा साइत गरे । कल्स्यौलीले कलास बोके । त्योसँगै निस्किए सगुन र साइपाटाका सामान । देउचने घर्ती बेहुलीका लुगा र गहना बोकेर तयार थियो । तल्ला गाउँको मगर साँइलो आफुले बोकेको बन्दुकको नालमा फलामको सुइरोले बेस्सरी बिजुलीबारुद कोचेर पड्काउँने तरखरमा लाग्यो । उसले पड्काएको बन्दुकको आवाजले तर्सिएका रच्छ्यान खोतल्नमा तल्लीन दुइटा कुकुर टाङ्गमुनि पुच्छर घुसार्दै टापकसे । गोठमा बाँधेका पाडा बाछा बुर्कुशी मार्दै उफ्रेर कराउन थाले । पुरोहितले सुभ समय भयो भन्ने बित्तिकै डोलीबोक्ने डोलेले बेहुलालाई खाम्र्याङ्ग खुम्रुङ्ग पारेर डोलीमा हाले । बेहुली ल्याउने रित्तो डोली बोकेको डोले बेहुलाको डोली नजिकै उभिएको थियो । बाजा–गाजा सहितको जन्तीको लामुलस्कर बेहुलाको डोलीको पछिपछि हौंचुरतिर लाग्यो ।

चौतारामा थकाइमार्न बसेको बेला, पञ्चेबाजाको धुनको बीचबीचमा मगर साइँलाले पड्काउने गरेको ठिस … ठिस … गर्दै पड्किने भरुवा बन्दुकको आवाज सुनिन्थ्यो । जन्तीजानेमा भुराहरुको सङ्ख्या उल्लेख्य रहेको हुँदा हिंडाई सुस्त थियो । अघिपछि दुइ घन्टामा पुगिने बाटो छिचोलेर हौंचुरपुग्न झन्डै चार घण्टा लाग्यो । बेहुलीको घरमा जन्तीपुग्दा अबेर भइसकेको थियो । भुराहरु थाकेर लोथभइसकेका थिए ।

विवाह प्रायस् रातीको लगनमा नै हुनेगथ्र्यो । जन्ती पर्सिने काम सकिएसँगै, केही घरगाउँले बेहुलालाइ ‘बरण’ गर्ने बिधिबिधान तर्फलागे । त्योसँगै सुरु भयो जन्तीलाई खाना खुवाउने क्रम । धोतीफेरेका बाजे बज्यै बारीको पाटामा बनेको भान्सा कुरेर बसेका थिए । भान्साको छेउमा धोतीफेरेका जन्तीको लाइन लाग्यो । धोतीफेर्नु नपर्नेहरु आआफ्ना टोपी खोलेर बारीको तल्लोगरामा टक्र्याक टुक्रुक बसे । डल्ला नफुटाएको बारीकोपाटामा बसेर भतेर खानुको मज्जानै अर्कै । बेहुलाको भाइ भएकाले सम्भुको अगाडि अरुकोभन्दा ठुलो टपरी राखिएको थियो । उसको अगाडि राखेको त्यो टपरी भने दुईटा माटाको डल्लाको बीचमा परेको रै’छ । राम्रोसँग नखुटियेको टपरीमा भात र तरकारी त अड्कियो, दाल भने डाडुबाट खन्याउन पनि नपाउंदै चुहिएर टपरिमुनिका डल्ला भिजाउन निस्कियो । गाल टार्नकोलागि मात्र दुइ चार गाँस बुकुल्टो खाना खाएर उ उठेको थियो । घरबाट हिड्ने बेलामा आमाले सने घर्तिलाई बोलाएर, ‘भतेरको भातले यसको पेट भरिँदैन, सुत्ने बेलामा ख्वाउनु’ भनेर खुटेको टपरीभरि ढकने नराखिदिनु भएको भए भोकले उसको के गती हुन्थ्यो होला, भन्न गाह्रो छ । सनेघर्तीले दिएको एक टपरी ढकने खाएर रमाइलो हेर्न जग्गेतिर लाग्यो ।

बचनबद्धतामा सिमीत रहेको हुन्छ हिन्दुहरुको बैबाहिक परम्परा । बैबाहिक प्रक्रिया जयमाला लगाउने, सिन्दुर दान गर्ने, पोते लगाउने र सात फेरा घुम्ने, प्रक्रियामा मात्र सिमीत रहेको हुँदैन । बेहुला र बेहुलीपक्ष्यका सयौं आफ्ना, आफन्त, गुरु, पुरोहित र अग्निलाई साक्षीराखेर लिइएको सातफेरामा धेरै ठुल्ठुला बचनबद्धता प्रकट भएका हुन्छन । जस अनुसार दुलहीले मागगरेका सात बचनलाई दुलहाले दृढ सङ्कल्पकासाथ पूरा गर्ने प्रण गरेको हुन्छ । दुलहाले दुलहीलाइ दिनुपर्ने ती सातबचन यस प्रकारका हुन्छन ।

 धार्मिक भावले होस् वा सामाजिक कर्तव्यबोधद्वारा गरिने प्रत्येक कार्यमा समानरुपमा संलग्न हुन पाउने दुलहीको अधिकारको सुनिश्चितता ।

 बेहुलाले जसरी आफ्ना आमा बाबुको सम्मान गर्छ, त्यस्तै सम्मान दुलहीका बाबु आमाले पनि पाउने बचनबद्धता ।

 बिबाह पश्चात दुलहाले, आफ्नी दुलही, छोराछोरी, घर परिबारका सदस्य र घरका चौपायाको रेखदेखको जिम्मेवारी लिनुपर्ने सुनिस्चितता ।

 बिबाह पश्चात परिवारको सम्पूर्ण आबस्यकताको परिपूर्तिको जिम्मेवारी बेहुलाले लिनुपर्ने निस्चिन्तता ।

 परिबारसँग सम्बन्धित प्रत्येक आर्थिक कारोबारमा दुलहीको प्रत्यक्ष्य संलग्नता रहनुपर्ने बचनबद्धता ।

 आफ्ना आफन्त वा मित्रजनहरुसँग बसेको कुनै पनि बेला दुलहीलाई अपमानित गर्न नपाउने सुनिस्चितता ।

 दुर्व्यसनबाट टाडा रहेर दुलही बाहेकका अन्य महिलासँग सारीरिक सम्पर्क नगर्ने र अन्यलाई आमा वा दिदी बहिनी सरह ब्यबहार गर्नेछु भन्ने बचनबद्धता ।

जग्गेमा बिधिबिधान चल्दैगर्दा केही जन्ती र घरगाउँलेहरु सिलोक भन्ने सुरसारमा लागे । सिलोक भन्ने मान्छेको कमि थिएन । लयहालेर गाउन सिपालु हुलाकी पुण्यप्रसाद दाइले सुरुगरेको सिलोक रातभरी चल्यो । सिलोक सुन्ने र जग्गेको रमाइलो हेर्दैगर्दा रात बितेको पत्तै भएन ।

बेहुलीको घरमा बिबाहको बिधिबिधान हुँदैगर्दा बेहुलाको घरमा भने रतेलीको धुमधाम हुन्थ्यो । सजिएर जम्माभएका महिलाहरुमध्ये दौरा सुरुवाल लगाएर कोही पुरुष बनेका हुन्थे । कोही सिमलिको हाँगाको घोडा बनाएर सिमलीकै सिर्कनाले हिर्काउदै घोडचडी बनेका हुन्थे । कोही श्रीमान् श्रीमती बनेर मायाप्रितीको राग अलप्थे । कोही जोकर बनेका हुन्थे । छाडा गीत गाएर नाच्ने र रमाइलो गर्नेमा प्रायः अधबैंसे या बुढीमाउहरु हुनेगर्थे । अल्लारे ठिटीहरु भने त्यो रातको तमासा हेर्ने दर्शक बनेका हुन्थे । धुमधामको रमाइलो हुन्थ्यो । रतेलिमा पुरुष जातिलाई प्रतिबन्ध लगाइएको हुन्थ्यो । अल्लारे ठिटाहरु भने रतेली खेलेको हेर्न सम्साँझै घर नजिकका अग्ला अग्ला रुखमा चढेर बस्नेगर्थे । कथमकदाचित कुनै महिलाले ठिटाहरु रुखमा चढेर बसेको कुराको सुइँको पाए भने, तिनीहरुलाई रुख बाट ओरालेर लखेट्दै डाडा कटाउने गर्थे ।

अर्को दिन बिहान रुँदै डोलीचढेकी दुलही र जन्तेबाख्राको सामानसहित सबै जन्ती घरतिर फर्किए । बेहुली लिएर घरमा जन्ती पुग्दा, रातभरी रतेलीखेलेका महिलाहरु, बेहुलीको स्वागतको लागि तयार भइसकेका थिए । हरिकी आमा दङ्गदास हुनुहुन्थ्यो । बुहारी भित्र्याएकोमा सानु फुर्ती थिएन उहाँको । बेहुली घरमा भित्र्याएपछि बल्ल भाउजु हेर्ने मौका पाएको थियो सम्भुले । गाउँघरका अरु भाउजुहरु त ठुल्ठुला पो हुन्थे । आफ्नु घरमा आउने भाउजु भने छिचिमिरा जस्ती, आफुभन्दापनि सानी । त्यती सानी मान्छेलाई कसरी भाउजु भन्नु भन्नेकुराले उसलाई पर्नुपीरपरेको थियो । अर्कोदिन बिहान भाउजुले दुईहातले कुचो लगाएको देख्दा, आफैं जस्तो एकजना अर्को खेल्ने साथी घरमा भित्रिएको कुरा थाहापाएका उसका बहिनीहरु भने खुब खुशी भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार