काठमाडौं,
असार १९ ।
हालसम्म देशभर कोरोना सङ्क्रमणको उपचारपछि ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएको जनाकारी दिए ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ । प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् । यस्तै ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । हालसम्म देशभरका २३ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको प्रवक्ता डा। गौतमले जानकारी दिए । उनका अनुसार ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।






