काठमाडौं,
असार १३ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंगलबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी बैठकमा भारतसँगको सीमा विवादका विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिबार सीमा विवादका विषयमा २१ जना स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका थिए ।
श्रेष्ठले भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए । नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो ।






