काठमाडौं,
असार १२ ।
आज विभिन्न देशबाट १ हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट २ सय ४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ सय ४८ नेपाली स्वदेश आइपुगेका छन् ।
यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १ सय ६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ६० जना नेपाली आज स्वदेश फर्किएका छन् ।
आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् । आज गएको जहाजले भोलि नेपाली लिएर फर्कने छ । विमानस्थलका अनुसार नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित आज त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ८ वटा उडान भएका छन् । भोलि विभिन्न ८ देशबाट नेपाली स्वदेश फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ ।






