कोरोनाले थप २ को मृत्यु

काठमाडौं,
असार ४ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणले थप २ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणले थप २ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका-४ घर भएका ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक पुरुषमा जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुधबार राति उनको मृत्यु भएको गौतमले जानकारी दिए ।

त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । जेठ ३१ गते टाउकोमा चोट लागेको र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी महिलाको सर्जरी गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनको बुधबार साँझ मृत्यु भएको हो । उनीहरुको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार थप ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितको हालसम्मकै यो उच्च सङ्ख्या हो । योसँगै सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म कोरोना जित्नेको सङ्ख्या भने १ हजार १ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । कोरोना सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार