काठमाडौं,
असार ३ ।
कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिला रहेकी छन् ।
उनी मिर्गौलाको समस्या भएपछि नेपालगञ्ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी थिइन् । उनको असार १ गते स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि नमुना पठाइएको थियो ।
उनको असार १ गते साँझ नै मृत्यु भएको थियो । उनको असार २ गतेको परीक्षणका नतिजाका क्रममा कोरोना सङ्क्रमण भएको पाइएको हो । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ५ सय ८६ थप सङ्क्रमित पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमितमा ५ सय ४६ जना पुरुष र ४० जना महिला रहेका छन् । कोरोना सङ्क्रमितको हालसम्मकै यो उच्च सङ्ख्या हो ।
योसँगै सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ७७ पुगेको छ । देशभर भेटिएका सङ्क्रमितहरुमा महिलाको सङ्ख्या ५ सय ३९ रहेको छ भने पुरुषको सङ्ख्या ६ हजार ६ सय ३८ रहेको छ ।
नयाँ सङ्क्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।
नेपालमा कोरोना सङ्क्रमणलाई जितेर पछिल्लो २४ घण्टामा जना ९ जना डिस्चार्ज भएका छन् । महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको सङ्ख्या १ हजार १ सय ६७ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा १० हजार २४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४९ हजार ७ सय ७२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या १ लाख २५ हजार ७९८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको सङ्ख्या ५ हजार ९ सय ९० रहेको छ ।






