काठमाडौं,
जेठ २४ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार थप दुईजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे । यसअघि कोरोनाकै कारण ११ जनाको मृत्यु भएको र शनिबार दुई थपिएसँगै १३ जना पुगेको हो ।
डोल्पाको जगदुल्लाका एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो । उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन् । उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको हो । त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसअघि कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाको एक र पाल्पाका एक र सुर्खेत एक गरी ११ जनाको मृत्यु भएको थियो ।






