काठमाडौं,
जेठ २३ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे । यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको हो ।
बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसअघि कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाको एक र पाल्पाका एक गरी १० जनाको मृत्यु भएको थियो ।






