काठमाडौं,
जेठ २३ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको जनाएको छ । महाशाखाकाले शुक्रबार देशका केही स्थानबाहेक सबैतिर बिहानैदेखि वर्षा भएको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार (शुक्रबार बिहान ७ः२५ बजे) काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २ र गण्डकी प्रदेशका सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ ।
‘काठमाडौं उपत्यकादेखि पश्चिमी क्षेत्रमा बिहान २ बजेदेखि नै वर्षा सुरु भएको, यो प्रणाली पश्चिमबाट पूर्व सर्दै आएकाले काठमाडौं उपत्यकामा यसभन्दा केही ढिलो र योभन्दा पूर्वका क्षेत्रमा अझ केही समयपछिदेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भइरहेको अवस्था छ ।
शुक्रबार दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकाँश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भागमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






