म्याग्दीमा कोरोना सङ्क्रमित साथै क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई आयुर्वेदिक औषधि

म्याग्दी,
जेठ २१ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले क्वारेन्टाइन साथै आइसोलेसनमा रहेका सम्भावित साथै कोरोना सङ्क्रमितहरुका लागि रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने खालका जडीबुटी साथै आयुर्वेदिक औषधिहरुको प्रयोग सुरु गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी का आयुर्वेद चिकित्सक डा. मधुरजी ढकालका अनुसार आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभाग द्वारा जारी कोभिड-१९ रोकथाम एवम् व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम हाल आइसोलेसनमा राखिएका एक जना सङ्क्रमित साथै क्वारेन्टाइनमा राखिएका ब्याक्तिहरुमा आयुर्वेद औषधिको प्रयोग गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेबी पुनको उपस्थितिमा जेष्ठ २१ गते बुधबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइन साथै न्यू वेस्ट प्वाइट मा रहेका ९३ जनालाई र आइसोलेसन रहेका ३० बर्षिय कोरोना सङ्क्रमित एक जना युबकलाई जडीबुटी चिया साथै रोगप्रतिरोधात्मक क्षमता बिकास गर्ने हेतुका आयुर्वेद औषधि उपलब्ध गराईएको छ । मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर के. सी.सँगै सामाजिक बिकास मन्त्री नरदेबी पुन कोरोना सङ्क्रमितको हौसला बढाउनका साथै आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनको अनुगमनका क्रममा म्याग्दी पुग्नुभएको थियो । आयुर्वेद जडिबुटी र जीवनशैली व्यवस्थापन सहितको एकीकृत चिकित्साको माध्यमबाट कोभिड बिरुद्धको अभियान थप प्रभावकारी हुने बिश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।

प्रभावित क्षेत्र र अन्य नागरिकहरुमा पनि औषधि वितरणको लागि तयारी भइ रहेको जिल्ला आयुर्वेदिक औषधालयका प्रमुख तथा आयुर्वेद चिकित्सक डा. मधुरजी ढकालले जानकारी दिनुभयो । जिल्लाको छ वटै पालिकाहरुमा यसलाई अभियानको रुपमा सञ्चालन गरिनेगरी कार्यक्रमको प्रस्ताव तयार गरिएको डा. ढकालले बताउनुभयो । साथै क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुलाई उच्च आत्मबल र स्वास्थ्य राख्न जीवनशैली व्यस्थापन सम्बन्धि कार्यक्रम सञ्चालनको लागि तयारी भइरहेको र अहिले प्रतिरोधात्मक क्षमता बिद्धिकालागि जडिबुटी चिया (तुल्सी चिया) र अश्वागन्धको प्रयोग गरिएको डा. मधुरजी ढकालले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार