काठमाडौं,
जेठ १८ ।
थप १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनामा कोरोना सङ्क्रमण भएको जानकारी दिएका हुन ।
सङ्क्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको छ ।
आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको सङ्ख्या भने २ सय २० पुगेको छ । जसमध्ये १ सय ७२ पुरुष छन् भने ४८ जना महिला छन् । आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । डा. देवकोटाका अनुसार शनिबार र आइतबार मृत्यु भएका दुई जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको सङ्ख्या आठ पुगेको हो ।
प्रवक्ता डा. देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका-७ को क्वारेन्टाइनमा रहेका दुल्लु-११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।
दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।






