पश्चिम रुकुमको चौरजहारी घटना छानबिनका लागि गृहद्वारा ५ सदस्यीय समिति गठन

काठमाडौं,
जेठ १३ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

गत शनिबार राति जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विकलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया युवतीसँग प्रेम गरेको आरोपमा हत्या गरिएको थियो ।

प्रहरीले चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार