काठमाडौं,
जेठ १२ ।
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड-१९)को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी नेपाल सरकारले गरेको ‘लकडाउन’को आज ६३ औं दिन हो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको गत चैत १० गते सोमबार साँझ बसेको बैठकले कोभिड-१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि पहिलो पटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।
सरकारले चरणवद्ध रुपमा लकडाउन लम्ब्याउँदै जेठ २० गते सम्म लकडाउनको अबधि बढाएको छ । लकडाउनमा सरकारले अत्यावश्यक भन्दा अन्यलाई बाहिर निस्किन पूर्ण रुपमा रोक लगाएको छ ।
नेपालमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु भित्री सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाको भित्री गल्लीमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ ।
लामो समयसम्म लकडाउन हुँदा दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्क काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणमा परेका व्यक्तिहरुको सङ्ख्या ६ सय ७५पुगेको छ भने सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म १ सय ५ जना निको भएका छन् । अहिलेसम्म सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।






