काठमाडौ,
जेठ १ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली भएको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रमा भने आंशिक बदली हुने छ ।
अपरान्हपछि भने पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, आज राति देशका पूर्वी क्षेत्रमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुनेछ भने पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।






