- लेखनाथ पोख्रेल
बुढ्यौलीको कुरा गर्दै थिएँ, कता पो अलमलिएछु ! रिटायर भएको केही वर्षपछिको कुरा हो, एकदिन मेरो दाँत अचाक्ली नै दुख्न थालेपछि काठमाडौँमा छ्यासछ्यास्ती पाइनेमध्येको एउटा डेन्टिस्टकोमा पुगेको थिएँ । उसले मेरो मुख च्यातेर पच्चीस पटक जति ओल्टाई–पल्टाई हे¥यो र ‘बाजेको दाँत कीराले खाएछ, निकाल्नुपर्छ’ भन्दा यसले पनि म बूढो हुन लागेको कुराको सुइँको पाएछ कि क्या हो भनेर झस्किएको थिएँ । दुखेर उखर्माउलो भइराखेकाले तत्काल माथिपट्टिको एउटा बङ्गारा भत्काउने आदेश दिएर बेडमा लम्पसार परें । घच्याक र घुचुक पारेर डाक्टरले दाँत हल्लाउँदा हाम्रो गाउँको नवलपुरेकामीले दुई हातले सनासो समातेर जबर्जस्ती भत्काएको केटाकेटी बेलाको दाँतको सम्झना आयो । मरणान्त हुने गरी दुखेर मुखभरि रगत भरियो । दाँत भत्काइसकेपछि ‘दोहो¥याएर यसकोमा त किन पो आउँला र’ भन्दै घाउ बनेको ठाउँमा कोचेको बुजो खस्ला कि भन्ने पिरले अररो मुन्टो पार्दै घर पुगें ।

– लेखनाथ पोख्रेल
केही दिनपछि अर्को बङ्गारो दुख्न थाल्यो । यस पटक भने म पहिलेको चैते डाक्टरकोमा नगएर नामुद डाक्टरकोमा पुगेको थिएँ । ऊ झन के कम हुन्थ्यो र ‘आँ गर्नुस् त बाजे’ भनेर मुख खोल्न लगायो । आफ्नो बूढीऔंलाले दुख्नेगरी मेरो नाक मास्तिर उचालेर कमाइखाने ठाउँ कहाँनेर छ भनेर खोज्न थाल्यो । आधीघण्टासम्म निस्सासिने गरी आँको आँ पारेर राख्दै भन्यो, ‘लौ नकाम भएछ, तपाईंको निकाल्नै नपर्ने दाँत निकाल्दिएछ’ । त्यस्तो कुरा सुन्दा मलाई एक पटक फेरि भतभती पोल्यो । फिर्ता ल्याउने उपाय थिएन । पोलेर पो के गर्नु र ? मैले त्यो अनिकाले डाक्टरको के बिजाहिं गरेको थिएँ र फुकाल्नु नपर्ने दाँत फुकाल्दियो भन्ने लागेर टोलाइरहें । ‘त्यो चैते डाक्टरको बाबुका सबै बत्तीसी खुस्किसकेका थिए होलान्, त्यसैले त्यसलाई मेरा अनारदाना जस्ता दाँत नपचेको हुनुपर्छ‘ भन्ने निक्र्याैलमा पुग्नुअगाडि मभित्र एउटा बडो उदारभाव पैदा हुन पुग्यो । सोचें– ‘कठ्ठै त्यो डाक्टरको पो के गल्ति र ! गल्ति त आफ्नु हो नि ! उमेर रहुञ्जेल, के खान हुने, के नहुने, केही नसोची हान्ग्राले पाङ्ग्रा निलेजस्तो गरी जे भेट्यो त्यो चपाउन नछोड्ने अहिले उपचार गर्ने डाक्टरलाई दोष दिने ! बिचरा, बाबु–आमाको पचासौं लाख खर्चेर पढेको त्यो डाक्टरले अर्को बिरामी फेला पर्ला नै भन्ने ग्यारेन्टी नभएपछि के गरोस् त ! बल्ल–तल्ल फेला परेको एउटा ग्राहकलाई पनि उम्कन दिनु भनेको उसको पनि पेशागत धर्मको अनादर नै त हो नि !’
मेरो मौलाउँदै गरेको बुढ्यौलीले सुरु–सुरुमा मेरो कस्तो जात्रा गरेको छ भन्ने कुरा भनी साध्य छैन ! आँखाको पालोमा त झण्डै ठूलै भाँडभैलो मच्चिएको थियो । दाहिने आँखाको मोतिबिन्दु निकाल्न आँखा अस्पताल पुगेको थिएँ । अप्रेसन थिएटरभित्र घुसार्नुअगाडि हिन्दी फिल्ममा देखिने प्रेतको जस्तो सेतो लुगा लगाउने इत्रियेकी एउटी नर्सले देब्रे आँखाको माथिल्लोपट्टि गर्दन छिनाल्न लाइनमा राखेको बगडेको बोकालाई लगाउने खालको रातो रङ्गको ठूलो क्रसचिह्न लगाएर ‘भित्र जानुस् बाजे’ भनी । फेरि ‘बाजे ?‘ मलाई भाउन्न होला जस्तो भयो । त्यही बेला मलाई त्यो प्रेतजस्ती नर्सले किन मेरो देब्रे आँखामाथि क्रसचिह्न लगाई होला भन्ने खुल्दुली मच्चियो । म पनि कम बुझ्ने मान्छे कहाँ थिएँ र ! मन–मनमा गुन्दै जाँदा ‘यो आँखाको होइन अर्को आँखाको चाहिँ अप्रेसन गर्नू’ भन्ने निर्देशन हुनुपर्छ भन्ने निक्र्यौल निकाल्न मलाई बेरै लागेन । अपरेशन थिएटरभित्र पसेपछि डाक्टरले आँखा चिर्ने तारतम्य मिलाउन थाल्यो । अपरेशन सुरु गर्न अलि ढिलो भएकाले के गर्दै रै’छ भनेर आँखा खोलेर हेरेको त कैंची र छुरी हातमा लिएर तम्तयार परेको हरियो मास्कभित्रका डाक्टरका आँखा त चिर्नुपर्ने आँखातिर नलागेर अर्को आँखातिर पो घुम्दै गरेको देखें । दाहिने घुँडाको अपरेशन गर्न प्राइभेट नर्सिङ होम पुगेको कुनै दह्रो मालवाला बिरामीको देब्रे घुँडा भत्काएर पठाएको कुरा मैले कुनै पत्रिकामा पढेको थिएँ । त्यो कुराको झल्को आँखाअगाडि आएलगत्तै जुरुक्कै उठेर आफ्नो दाहिने आँखा च्यातेर देखाएपछि बल्ल डाक्टरका हात त्यतातिर लागेका थिए । धन्नै बित्यास परेन !
त्यो घटनाको निकै दिनपछिको कुरा हो, मेरो अहङ्कारी मनले एकाएक पल्टिखाएर आफ्नो रुप परिवर्तन ग¥यो । उसले राम्रोसँग बुझेको थियो– सम्झाइ–बुझाइ नगरे म मान्नेवाला छैन भन्ने कुरा । नजिकै आएर खुसुक्क कानमा ‘कति दिन तन्नेरी भएको नाटक गर्छस् ? छोड्दे अब ! हिमाल जस्तो सेतो कपाल हुनु भनेको परिपक्वताको प्रतीक हो भने भत्केका दाँत र चिम्रा भएका आँखा … तेरो पनि हबिगत यस्तै हुनेछ भनेर तन्नेरीलाई दिएको चेतावनी हो भनेर मान्’ भनेपछि आजकल म ज्ञानी बनेको छु । अब कसले ‘बाजे‘ र ‘बाबै’ भनेर मलाई उत्तेजित बनाउँन सक्दो रहेछ, हेरौंला भनेर पर्खी बसेको छु म ।
लेखनको क्रम यहाँसम्म पुगेपछि मलाई के–के न उपलब्धि हासिल गरें भन्ने लाग्न थाल्यो । आफ्नो घोक्रिएको नाक लिएर एकदिन मैले चिनजानका पत्र–पत्रिकामा लेखहरु लेख्ने एकजना परिचितलाई आफ्ना लेखहरु देखाएर कमेन्टको लागि अनुरोध गरेको थिएँ । अनुरोध गरेको केही दिनपछि आएर पढेजस्तो गरेर सोद्धा पनि नसोधी आफ्नै बाबुको जीवनी लेखे जस्तो गरी काटकुट गरेर मेरो पाण्डुलिपि नै सच्याउन थालेको देखेपछि मेरो कन्पारा तातेर आयो । ‘के गर्न लागेको ?’ भनेर सोद्धा पो थाहा भयो– यिनी त दरबार भित्रको फ्रेमवर्कमा फिट भइसकेका प्रेतलेखक रहेछन् भन्दै थिएँ ‘खै ! तपाईंको लेखनमा न कुनै देश–विदेशका कुरा उल्लेख छन्, न पद र विभूषण कै कुरा देखिन्छन्, न त कुनै राजा–माहाराजा र नेतासँगको उठ–बस र भोज–भतेर कै कुरा छन्, न त छन्दबद्ध साहित्यिक शब्द नै । गाउँले भाषामा लेखिएका यस्ता लेखलाई सही ढङ्गले प्रस्तुत गर्न त मैले धेरै मिहिनेत गर्नुपर्छ । लामु समय लाग्छ’ भन्दै यो ग्राहक बन्ने खालको मान्छे होला कि नहोला भनेर टुङ्गोमा पुग्न मेरो मुखतिर हेरे । उनले मलाई पनि ग्राहक बनाए । आफ्नै दरबारिया साँचोभित्र घुसार्न खोज्दै थिए भन्ने कुरा बुझ्न मलाई गाह्रो परेन । पुनर्लेखनको सोच बनाएर सच्याउन थालेका उनलाई मैले बोलाउन गल्ति गरेकोमा माफी माग्दै बिदा गरें । उनी ग्राहक बिच्किएको कुरा बुझेर सुस्केरा हाल्दै बाहिर निस्किएँ । मैले सुरुमा भेटिएको प्रेतलेखक गुल्टनलाई सम्झिएँ । बरु त्यही पो ठिक होला भन्ने लाग्न थाल्यो । (मिलापको माघ अङ्कबाट)







