कपिलवस्तु,
वैशाख २६ ।
कपिलवस्तुका दुई जना कोरोना संक्रमित ७ दिनअघि मात्रै भारतबाट आएको खुलेको छ । १६ र २२ वर्षका दुई संक्रमित लकडाउनकै समयमा सिमानाबाट लुकिछिपी प्रवेश गरेको मायादेवी गाउँपालिकाले जनाएको छ । उनीहरु मुम्बईदेखि आएका थिए ।
लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । दुवैमा कोरोनाको लक्षण नदेखिए पनि संक्रमण देखिएको हो ।
यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा पनि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको सङ्ख्या २६ पुगेको छ । यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ संक्रमित भेटिएका थिए ।






