काठमाडौं,
वैशाख २१ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समिकरण बदलिएपछि विवाद तत्कालका लागि टुंगिएको छ । अल्पमतमा रहेका प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उपाध्यक्ष बामदेव गौतम खुलेपछि नेकपाभित्रको समिकरण बदलिएको हो ।
प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने तयारीका साथ जुटेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल अल्पमतमा परेपछि आत्मालोचना गर्दै विवाद टुंग्याउने मध्यमार्गी बाटो झिकिएको छ । शनिवारको बैठकमा प्रचण्डसमेत निक्कै नरम रुपमा प्रस्तुत भएपछि समिकरणले नयाँ रुप लिएको हो । गौतमले आफु प्रधानमन्त्री ओलीको निर्णयको समर्थनमा रहने बताएपछि प्रचण्ड–नेपाल अल्पमतमा परेका थिए । यसअघिका बैठकमा ओलीको पक्षमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ खुलिसकेका थिए । गौतमसँग बालुवाटारमा शनिवार दिउँसो छलफल गरेपछि उनी ओलीको समर्थनमा खुलेको एक नेताले जानकारी दिए ।
दुई नेताबीच आँउदो निर्वाचन अगाडी प्रधानमन्त्री बनाउने वा निर्वाचन जितेपछि उपप्रधानमन्त्री बनाउने भन्ने सहमति जुटेको स्रोतको दावी छ । गौतमले भने आफ्नो नेतृत्वमा आगामी संसदीय निर्वाचन गराउने चाहना व्यक्त गरेका छन् । उनलाई निर्वाचन अघिको बढिमा एक वर्ष प्रधानमन्त्री बनाउन सक्ने स्रोतको दावी छ । तर, सचिवालय बैठकले भने उनलाई प्रतिनिधिसभामा उपयुक्त समयमा ल्याउने निर्णय मात्र गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने र सांसद बनाउन पहल गर्ने निर्णय लिएको जानकारी दिए । ‘केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र लैजान पहल गर्ने निर्णय लिएको छ’, श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने । प्रधानमन्त्री बनाउन लगिने लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिनिधिसभामा ल्याउने निर्णय भित्र त्यो पनि अन्तरनिहित हुने बताए । ‘प्रतिनिधिसभा आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिखेर खुल्छ’, उनको भनाई थियो ।
सचिवालयले उनलाई कहिले र कुन क्षेत्रबाट उम्मेदवार बनाउने भनेर कुनै निर्णय भने गरेको छ । योसँगै यसअघि सचिवालयले राष्ट्रिय सभाको सदस्यका रुपमा गौतमलाई लैजाने निर्णयको औचित्य पनि सकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटामा अब अर्थमन्त्री डा। युवराज खतिवडा जाने भएका छन् । आइतवार बस्ने मन्त्रिपरिषद् बैठकले खतिवडाको नाम सिफारिस गर्ने सम्भावना बलियो रहेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओलीको मृगौलाको दोस्रो पटकको प्रत्यारोपण अगाडी बसेको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गर्ने गरी भएको भनिएको निर्णयमा विवाद भएको थियो । अधिकाशं सचिवालय सदस्यले गौतमको पक्षमा निर्णय गरेपनि प्रधानमन्त्री ओलीले खतिवडालाई सिफारिस गर्ने आफ्नो निर्णय सुनाउनु भएको थियो । सो विषयमा विवाद चर्किएपछि सिफारिसको विषय थाति रहेको थियो ।
शनिवारको सचिवालय बैठकमा बहुमत भएपनि प्रधानमन्त्री ओली लचिलो रुपमा प्रस्तुत भएको एक नेताले जानकारी दिए । यो निर्णयसँगै तत्काल प्रधानमन्त्रीको राजिनामाको विवाद पनि टुंगिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अपरान्ह झण्डै तीन घण्टा बसेको बैठकमा शिर्ष नेताले अहिलेसम्म भएका कमि कमजोरीमा आ–आफ्नो हकको जिम्मेवारीका निम्ती आत्मालोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी र सरकारका कामकारवाहीका विषयमा आत्मालोचना गर्दै अगामी दिनमा सामुहिक विचार लिएर अगाडी बढ्ने सङ्कल्प गरेका छन् । सचिवालय बैठकमा पार्टीका काम र सरकारका काममा प्रधानमन्त्री एंव अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै एकतावद्ध भएर अगाडी बढ्ने संकल्प लिएको प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टी वा सरकार वा सम्वन्धित क्षेत्रमा जे जति कमिकमजोरी भएका छन् ति कमी कमजोरीमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नुभएको छ, आफ्नो हकको जिम्मेवारीका निम्ती’, उनले भने, ‘यसैगरी कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मालोचित हुदै अगाडी बढ्ने सङ्कल्प गर्नुभएको छ ।’
आत्मालोचना गर्दै सरकारलाई जनपक्षिय काममा केन्द्रीत गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए । सरकारलाई पार्टीको मार्ग निर्देशन र नीति निर्देशनमा सरकार संचालन गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘पार्टीलाई विधिपद्धति र कम्युनिष्ट मुल्यमान्यता अन्तर्गत सञ्चालन गर्ने । पार्टीको मार्ग निर्देशन र नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख समृद्धि र सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अगाडी बढ्ने निर्णय गरेको छ’, उनले भने ।
२५ बैशाखमा स्थायी कमिटी
सचिवालयले स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाएको छ । प्रवक्ता श्रेष्ठले २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । अध्यादेश प्रकरणपछि सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग चर्को रुपमा उठाउदै आईरहेका छन् । उनिहरुले पार्टी र सरकारको कामकारवाहीका विषयमा छलफल हुने पर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री ओली पक्षले भने तत्कालका लागि स्थायी कमिटी बैठक आवश्यक नभएको धारणा राखिरहेका थिए ।
हस्ताक्षर गरेर बुझाउने सदस्यले पार्टी र सरकार एकलौटी ढङ्गले चलेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । ओली पक्षले स्थायी कमिटीको बैठक टार्न खोज्ने र प्रचण्ड–माधव पक्षले बैठक गराउन खोज्ने रस्साकसीकै वीचमा ओली समूह एक कदम पछाडि हटेको छ । शनिबार सचिवालय बैठक बस्नुपूर्वसम्म ओली पक्षका नेताहरु स्थायी कमिटीको बैठक टार्ने पक्षमा थिए । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा हाल ४४ जना सदस्य रहेका छन् ।
माधव नेपाल असन्तुष्ट !
सचिवालय बैठकमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता नेपालले आंशका व्यक्त गरेका छन् । उनले शनिबारको बैठकमा सहमतिमा अगाडि जाने कुरा सकरात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलन भएको संकेत गर्दै असन्तुष्टि जनाएका हुन् ।
बुधबारको बैठकमा चर्को बोलेका प्रचण्ड शनिवारको बैठकमा निक्कै नरम रुपमा प्रस्तुत भएपछि नेपाल असन्तुष्ट बनेको स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच बैठक अगाडी बालुवाटारमै आधा घण्टा भेटवार्ता भएको थियो । स्रोतका अनुसार सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुईजनाको चोचोमोचो चाँहि मानिन्नँ ।’ उनलाई तेस्रो अध्यक्ष बनाउन ओलीले गरेको प्रस्ताव समेत अस्विकार गरेका छन् । शनिबारको बैठकमा नेपालले त्यसलाई अस्विकार गरेको प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।
शनिवारको बैठकमा आसनको व्यवस्था पनि पहिलाको भन्दा फरक गरिएको थियो । अघिल्ला बैठकहरुमा अध्यक्ष प्रचण्डलाई अन्य सचिवालय सदस्यहरुसँगै राखिने गरेको भएपनि शनिबारको बैठकमा उनलाई अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगैको लहरमा राखिएको थियो । वरिष्ठ नेता झलनाथ खनालले मिल्ने कुरा राम्रै भए पनि साँच्चै मिलेर गएमात्र समस्या हल हुने नत्र पुरानै अबस्था दोहोरिने धारणा राखेका थिए ।
एकताविरोधी अभिव्यक्तिमा रोक
सचिवालयले आफ्ना नेता कार्यकर्तालाई पार्टीलाई फुटउन्मुख बनाउने कुनै पनि क्रियाकलापमा सामेल नहुन निर्देशन दिएको छ । पार्टीलाई एकतावद्ध बनाउने दृढता व्यक्त गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताको पक्षमा लाग्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ । पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ’, बैठकपछि श्रेष्ठले भने । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले छिट्टै संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिएका थिए । (सौर्य दैनिकबाट)






