काठमाडौं,
वैशाख १ ।
रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट दुवै विधिबाट अहिलेसम्म १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले ५२ जिल्लामा कोभिड-१९ को परीक्षण शुरु गरेको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए । अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए ।
उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट ५ हजार ६ सय ९१ र र्यापिड डाइग्नोष्टिक टेष्टबाट ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३१ र उपत्यकाबाहिर १ हजार २ सय ५९ गरिएको छ । आजै मात्र काठमाडौँमा ४ सय ११ तथा र बाहिर १ सय ८ जनाको परीक्षण गरिएको छ ।
यसैगरी, प्रवक्ता डा. देवकोटाले पर्सामा हिजो कोभिड-१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।
पर्साको छपकैया टोलमा रहेका ५९ जनाको र्यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको र्यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड-१९ को सङ्क्रमण देखिएको छ ।
दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।
यसैगरी अहिलेसम्म ७ हजार १ सय ७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैँ परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २ सय १९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १ सय ३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा ९ जना र बाँकी ९४ जना बाहिर रहेका छन् ।






