राहत वितरणमा भइरहेको भीड हटाउन मुख्यमन्त्री शेरधन राईको निर्देशन

विराटनगर,
चैत २८ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरूले डेलिभरी भ्यानको व्यवस्था गरी घर-घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

विशेष गरी तराईका जिल्ला र सहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरेर व्यवस्थापन गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् । त्यस्तै मानिसलाई आवत-जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशनसमेत दिए ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ति व्यवस्था, राहत वितरणलागायतको अवस्थाबारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार