कविताः थपडी

 – डा. डीआर उपाध्याय

थपडी विगत केही बर्षदेखि
मलाइ थपडी बजाउन औंधी मनपर्छ
एक्लै होइन भिडकाबीच
म सुरताल मिलाएर वजाउँछु थपडी ।

कहिलेकाहीं एक हत्केला बहकाउमा पर्छ
तुक र बेतुकको तर्कमा अलमलिन्छ त्यतिखेर
म बेन्च भित्ता वा सघाउन मिल्ने जे भेटछ
त्यसैको सहयोग लिएर भएपनी बजाउँछु थपडी ।

धेरैजसो खुलामञ्चहरु मा
कुनै कुनै बेला मदारीको गोलो घेरामा उसका चुटकिला सुनेर
तथा चमत्कारको अन्तिम दृश्यमा त
अनुहारै फुलाइ भएभरको बल लगाएर बजाँछु थपडी ।

माला पहिराउदा कर्णधारलाई तथा खाँदा ओढाउँदा
बेग्लै जोश जाँगर साथ बजाउछु थपडी
अचेल लाग्छ मलाइ मेरो नियतीसँगै जोडिएर आएको छ थपडी
त्यसैले मलाई थपडी बजाउन औंधि मनपर्छ ।।

यसमा तपाइको मत

अन्य समाचार