प्रदिप र मेलिनालाई फिल्मी खबर वर्ष व्यक्ति सम्मान, सुमनलाई रङ्ग पत्रकारिता पुरस्कार

काठमाडौं,
फागुन ३० ।

नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिक दशऔं वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवम् पुरस्कार प्रदान गर्दै आएको फिल्मीखबर साप्ताहिकले यो वर्ष पनि चलचित्र वर्ष व्यक्ति एवम् फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यसवर्ष पुरुषतर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलीना राई चयन भएको घोषणा गरेको छ । त्यस्तै फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार यसवर्ष रङ्ग पत्रकार सुमन पण्डित ‘वैरागी’लाई प्रदान गर्ने भएको छ ।

थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवम् जात्रै जात्राको ह्याट्रिक सफलतासँगै यस वर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ । भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भने जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत कम्मरमाथी पटुकी (नाइ नभन्नु ल – २)देखि निरन्तर रुपमा पाश्र्व गायनमा सफल मेलीना राईलाई यस वर्षको महिलातर्फको वर्ष व्यक्तिमा चयन गरेको फिल्मीखबरले बताएको छ । चलचित्र गीत, आधुनिक एवम् लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ ।

गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार यस वर्ष रङ्ग पत्रकार सुमन पण्डित ‘वैरागी’लाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ । विगत डेढ दशकभन्दा लामो समयदेखि रङ्ग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनि म्युजिक खबर डटकम र म्युजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् । श्रम बुलेटिन साप्ताहिकबाट पत्रकारिता शुरु गरेका सुमनले अन्य छापा तथा अनलाइन सञ्चारगृहमा अनुभव बोकेका छन् । उनलाई प्रमाणपत्र एवम् नगद राशी एघार हजार एघार रुपैया सहित फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार प्रदान गर्ने फिल्मीखबरले जनाएको छ ।

वार्षिकोत्सवकै दिन कार्यक्रम गरी सम्मान एवम् पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केही दिनपछी कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार