हाम्रा अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । भारतमा भनिने होली हाम्रो फागु पर्व हो । तराई क्षेत्रमा फगुवा । तर, अहिले सबैतिर होली नै भन्न थालिएको छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरु मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरु भएको मानिन्छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा फाल्गुन २० गते मंगलबार बिहान ७ बजेर ५६ मिनेटको साइतमा विधिपूर्वक रङ्गीविरङ्गी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएसँगै यष वर्षको होलीको सुरुवात भएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । यसरी सुरु भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाए पछि सम्पन्न हुन्छ । तर, यस वर्ष भने होलीको उत्सव फिका हुने भएको छ कोरोना भाइरसका कारण । काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली लगायतका मेला पर्व र उत्सव नगर्न अनुरोध गरेको छ । छिमेकी देश चीनलगायत विश्वका विभिन्न देशहरुमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) फैलिन सक्ने भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताइसकेको र नेपाल सरकारले समेत भीडभाडमा नजान अनुरोध गरिसकेको उल्लेख गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौं जिल्लाभित्र भीडभाड हुने कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।

- गीता अधिकारी
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रङ्गीविरङ्गी कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीनखण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते सोमबार र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते मंगलबार होली पर्व मनाइँदै छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । रङ्गहरुको यो पर्वमा मात्रै रङ्गहरुसहित होली खेल्न पाईन्छ । होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ ।
नेपालमा होली कहिले देखि सुरु भयो भन्ने यकिन तिथिमिति नभए पनि मल्लकालदेखि सुरु भएको भन्ने गरिन्छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङ्गसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।
होलीको बारेमा जो. पं. भरतमणी मरासीनीका अनुसार हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहलादलाई मार्न छोरालाई अग्निकुण्डमा हालेर आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहलादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको हो । होली हिन्दूहरुको अत्यन्त प्राचीन पर्व हो । मरासीनीका अनुसार यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरुमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरु र ग्रन्थहरुमा पनि यस पर्वको उल्लेख छ ।
असत्य माथि सत्यको बिजय भएको कारण भनि मानिदै आएको यो पर्वमा हिजो आज थुप्रै बिकृति देखिएका छन । सामान्यतय रङ्ग दलेर आपसमा खुशी मनाउने गरे ता पनि सहरी ईलाकामा बेलुनमा पनी भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिँड्ने मान्छेलाई छयाप्ने, जस्ता बिकृतिले यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङका उठेका पनि छन् । आफ्नो क्षणिक खुशीका लागि कसैको इच्छा विपरित पानी र रङ्ग फ्याक्नु राम्रो हो र !
के हामीले खेल्ने रङ्गहरु हानिरहति छन् त ? बजारमा रहेका रङ्गहरु रसानयुक्त हुन्छन् । यस्ता रङ्गहरु शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्याहरु हुने विज्ञहरु बताउँछन् । भारतमा केही वर्ष अघि गरिएको अनुसन्धानमा होलीमा प्रयोग हुने रङ्गमा कपडा रङ्ग्याउन प्रयोग हुने रसायन नै प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । नेपालमा आउने रङ्ग पनि त्यस्तै किसिमका हुन् ।
होलीका नाममा विकृति र विसङगती भित्रिएको छ जसले यसको मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता हुन थालेको छ । होलीमा विकृती फैल्याउने, पानी छयाप्नेलगायतका कार्यहरुलाई प्रहरीले पक्राउ गर्ने सार्वजनिक मुद्दा लगाउने गर्नले पछिल्ला समयमा केही कमि भने आएको छ । काठमाडौंमा केही वर्ष अघि देखिने घरको छतबाट फोहर पानी फ्याक्ने, प्लास्टिकमा भरेर पानी फ्याक्ने जस्ता दृश्यले त्रासित बनाउँथ्यो होली सकसपूर्ण बन्थ्यो, खासगरी महिला दिदी बहिनीलाई घरबाहिर निस्कनै गाह्रो पथ्र्यो तर अहिले यस्ता दृश्यमा कमी आएको छ । ‘लोला विकृति’मा कमि देखिएको छ ।
होली मात्र होइन हाम्रा अन्य चार्ड पर्वहरुमा पनि पछिल्लो समयमा विकृति बढेको पाइन्छ । चाहे हाम्रा भनिएका चार्ड पर्वहरु हुन या भित्रिएका संस्कृतिहरु जस्तै भेलेन्टाइन्, क्रिमश आदी । सबै तिर हामीले हाम्रा सीमाहरु नाग्न थालेको । यस्ता चाडपर्वहरुमा विकृति बढ्दै गएको देखिन्छ । भरखरै मात्र हामीले शिवरात्री मनायौ । शिवको अराधना गर्ने पर्वमा गाजा, भाङ्ग, धतुरा र मदिरा जस्ता कुराहरुले प्रश्रय पाए । पशुपतिक्षेत्रमा त गाजा भाङको राम्रो व्यापार नै थियो र युवापुस्तामा त्यसको बिकृति स्पष्टरुपमा देखिन पाइन्थ्यो । त्यस्तै महिलाहरुको चार्डको रुपमा रहेको तीज पनि एक महिना अघि देखिनै विभिन्न पार्टी प्यालेसहरुमा पुग्न थालेको छ । दशैं, तिहार लगायतका चार्ड पर्वहरुमा पनि मौलिकता भन्दा विकृतिले नै प्रश्रय पाइरहेको तपाईं हामी सबैले देखेका नै छौ ।
धार्मिक आस्था र विश्वासमा मनाइने पर्वहरुमा समयको माग अनुसार सही रुपमा परिमार्जन हुनुपर्नेमा विकृति भित्र्याएका छौ हामीले । वर्षौदेखि होलीमा पनि यस्तै हुँदै आएको अनुभव सबैले बटुलेकै छौ । फलतः रङ्ग र सद्भावको यो पर्वमा डर र त्रासका दृश्यहरु देखिने गर्छन् । बसन्त ऋतुको आगमनसँगै खुसियाली बोकेर आउने रङगहरुको पर्व होली पछिल्लो समय महिला अझ विशेषगरी युवतीका लागि त्रासको पर्वका रुपमा विकसित हुन थालेको छ । चाडपर्वको मौलिकतालाई अङ्गाल्नु पर्छ न कि विकृतिले प्रश्रय । धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरुलाई सचेत नागरिकहरुले प्रश्रय दिनुहुँदैन । हुलहुज्जत वा जर्बजस्ती गर्नु संस्कृति हुन सक्दैन । यसको आफ्नो मौलिकपनलाई जोगाई भोलीको पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी र कर्तव्य हो ।
हाम्रा हरेक चाड पर्वका अवसरमा यससँग सम्बन्धित गीतहरु पनि हुने गर्छन् । होलीका लागि पनि छुट्टै लय र भाकामा गीत सङ्गीत रहेका छन् । यही मेसो पारेर कति सर्जकहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुभएकोछ स्रोता÷दर्शकमाझ । होलीका गीतले हाम्रा चलचित्रमा पनि स्थान पाइरहेका छन् ।
पछिल्लो समय कर्पोरेट र सामुहिक भन्दा पनि कमर्सियल होलीको ट्रेण्ड बढेको छ । अहिले धेरै टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाहरुले पनि आ-आफ्नै होली कार्यक्रम सञ्चालन/आयोजना गर्ने गरेका छन् । तर यो वर्ष भने कोरानाका कारण यस्ता पूर्व निर्धारित कार्यक्रम नहुने भएका छन् ।
होलीमा सडकमा हो–हल्ला गर्दै हिंडनु भन्दा आफ्ना नातेदार, नजिकका साथीभाइ भेला भएर खानपिन गर्दै, रमाइलो गर्दै, नाचगान गर्दै, एक–अर्कालाई रङ्ग दल्दै प्रेम र सद्भाव बाँडेर खेलौ, मनाऔँ । विकृतिलाई प्रश्रय नदिउ । होलीमा टाढा भएका नजिक हुन तर नजिक भएका नबिच्कियुन् । रमाइलो पर्वमा अरुलाई पीडा दिने काम नगरौ । आपसी सद्भाव र रङको उत्सवको पर्व फागु अर्थात होलीको सबैलाई रङ्गीन शुभकामना ।






