काठमाडौं,
फागुन १६ ।
बहुपती प्रथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्माण टिमले सिनेमा खेल्न इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । निर्देशक लक्ष्मण सुनारका अनुसार इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागी बोलाइने छ ।
जुम्ला, मुगु र डोल्पामा छायाँकन गरिने चलचित्रका लागी २० देखि २५ वर्ष उमेर समुहकी एक मुख्य अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मङ्गोलियन अनुहारका मुख्य अभिनेताका साथै अन्य सहायक कलाकारको लागी अडिसन खुल्ला गरिएको निर्माण टिमको भनाई छ । निर्माण घोषणाको लामो समय पश्चात फ्लोरमा जाने तयारीमा रहेको चलचित्रचको कथामा काम गर्न केही समय लागेका कारण छायाँकनमा ढिलाई भएको निर्देशक सुनाएले बताए ।
हरि श्रेष्ठ र शेखर लामा निर्माता रहेको चलचित्रको कथा निर्देशक सुनार स्वयंमले तयार पारेका हुन् । अरोन अशोककुमारको छायाँकन रहने चलचित्रका मुख्य कलाकारको लागी अडिसन आगामी मार्च १२ अर्थात फागुन २९ गते गरिने बताइएको छ । यसअघि यो चलचित्रमा अभिनेत्री बेनिशा हमालले पनि मुख्य भुमिकामा अभिनय रहने खबर बाहिरिएको थियो ।






