काठमाडौं,
फागुन १० ।
चलचित्र ‘धुलो’को ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । केही दिनअघि चलचित्रको ट्रेलर सार्वजनीक गरिएको थियो भने शुक्रबार ‘चार सयचालिसको बिजुली’ आइटम गीत सार्वजनिक गरिएको हो ।
राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, सङ्घर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको चलचित्रको सार्वजनिक आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका छन् । केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको सङ्गीत र रामजी लामीछानेको कोरियोग्राफी छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ अबको शुक्रबार अर्थात् १६ फागुनमा एकल प्रदर्शनमा देशभरका सिनेमाघरमा आउँदै छ ।
गीतमा बुद्धि तामाङ, अग्रज केसी र दीपाशा बिसी फिचर छन् । निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मज्दुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको चलचित्रमा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।
दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । सिके वाग्लेप्रोजेक्ट एडभाइजर रहेको चलचित्रमा केशब मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको सङ्गीत, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।






