काठमाडौं,
फागुन ७ ।
चलचित्र ‘प्रेमगीत ३’को अमेरिका र क्यानडाको बिक्रीपछि युरोपमा पनि बिक्री भएको छ । युके र यूरोपका ८ देशका लागि बिदेश राईटस् २३ हाजर ५सय युरो (करिब ३० लाख रुपैयाँ) मा बिक्री भएको चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।
इनास चलचित्र प्रबद्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ, इनास युरोप कोअर्डिनेटर सन्तकुमार थापा मगरले युके सहित युरोपका आठ देशका लागि यो चलचित्रको राईट्स किनेका हुन् ।
यस अघि प्रेमगीत ३ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले किनिसकेका छन् ।
प्रेमगीत र प्रेमगीत २ को सफलता पछि प्रेमगीत ३ निर्माण गरिएको हो । आगामी २८ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको गीत ‘हात्ती ढुँगामा…’ अघिल्लो साता सार्वजनिक गरिएको थियो । गीतको भिडियो युट्युब नेपाल ट्रेन्डिङमा एकमा पर्न सफल भयो । यो चलचित्रको चाँडै ट्रेलर रिलिज गर्ने निर्माता एवम् निर्देशक सेनले जानकारी गराएका छन् ।
चलचित्र प्रेमगीत ३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रका सहनिर्माता कुमार सान शाह रहेका छन् । यसका कार्यकारी निर्माता डम्बर बिक्रम सेन (मिलन) र चक्रबहादुर चन्द हुन् ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कल्याण सिंह र एलिश कार्कीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । प्रेमगीत ३ लाई काठमाडौमा सेट लगाएर ४० प्रतिशत र मनाङमा ६० प्रतिसत छायाँकन गरिएको छ ।






