काठमाडौं,
फागुन ७ ।
चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ ।
राजधानीमा ठेला-रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तवीक जीवनशैली, सपना, सङ्घर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको ‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य कलाकारका साथै नीर शाह, शुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको सञ्चार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनीक नभइ यथार्थ जीवनका कथामा बुनीएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो चलचित्रमा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।
निर्माता सङ्घका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउदै चलचित्र राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा बिश्वस्त रहेको सुनाए । उनले यो चलचित्रले कलात्मक पाटोलाई सजिव ढङ्गले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे ।
कार्यक्रममा चलचित्र प्राबिधिक सङ्घका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई, प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्नयात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले चलचित्रले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।
दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतमा शंकर थापा र जुगल डंगोलको सङ्गीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।






