काठमाडौं,
माघ २७ ।
लिम्बू चलचित्र तथा म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७६’ राजधानीमा सम्पन्न भएको छ । लिम्बू भाषा, संस्कृतिमा बनेका चलचित्र र म्युजिक भिडियोको अवार्ड कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।
सात वटा लिम्बू चलचित्र र २० वटा म्युजिक भिडियो सहभागी भएको यस अवार्डमा लिम्बू चलचित्रबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भीम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, सङ्गीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे थिए ।
त्यस्तै म्युजिक भिडियोतर्फ निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिका दीपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिम लिम्बु, नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए । यसैगरी पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए ।
फाल्गुनन्द लिङदेन फिल्मस् आयोजक रहेको कार्यक्रममा अवार्डका जुरी येहाङ लावती र विनोद सेरेङलाई सम्मान गरिएको थियो । आयोजकले गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरेका थिए । कार्यक्रममा सोम लामा, सरिता राना, नुमा शेर्पा र दिपा सुहाङले साङ्गीतिक प्रस्तुति दिँदा यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा नेपाली चलचित्रका निर्देशक मदन घिमिरे, गायका धिरज राई र सञ्चारकर्मी पारसमणि पौडेललाई सम्मान गरिएको थियो ।






