अभिनेता कुटपीट प्रकरण: सांसद अभिषेक प्रताप शाहसँग पाँच लाख धरौटी माग

कपिलवस्तु,
माघ २८ ।

राप्रपाका केन्द्रिय सदस्य तथा कलाकार श्याम मिश्रा विरुद्ध ज्यान मार्ने उद्योगमा कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहसँग जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको छ । जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको एकल इजलाशले शाहलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ५ लाख धरौटी लिई मुद्धाको पुर्पक्षका लागि आदेश दिएको छ ।

गत पुस ५ गते कृष्णनगर स्थित आफ्नै निवासमा नेपाली काँग्रेस नेता तथा सांसद शाहले राप्रपा नेता एवम् गायक तथा अभिनेता श्याम मिश्रालाई सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए । लगत्तै पीडितको जाहेरी पश्चात प्रहरीले घटनामा संलग्न सांसद शाह तथा चालक शशी कहाँर विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले सांसद शाहका चालकलाई पक्राउ गरेपनि शाह भने पक्राउ परेका थिएनन । जिल्ला अदालतले यस अघि चालक कहाँरलाई पनि घटनामा कसुरदार देखिएको भन्दै ५ लाख धरौटी सहित पुर्पक्षका लागि आदेश दिएको थियो ।

घटना दर्ता लगत्तै भारतमा बस्दै आएका शाह सोमबार विहान १० बजे अदालतमा हाजिर भएका थिए । डेढ महिनासम्म प्रहरीसँग भाग्दै आएका शाह अन्ततः आंशिक रुपमा दोषि देखिएपछि धरौटी बुझाएर जेल जानबाट जोगिएका छन् । तर, पीडित जाहेरवाला भने उक्त आदेश प्रति असन्तुष्ट बनेका छन् ।

शरिर बन्धक, डाँका, अपहरण तथा ज्यान मार्ने उद्योग अन्र्तगतका अभियोग लगाउनुपर्नेमा प्रहरी मात्र ज्यानमार्ने उद्योग मुद्धा लगाएको कारण अदालतको आदेश फितलो आएको आरोप पिडित श्याम मिश्राले लगाएका छन् । मिश्राले आफुले उल्लेख गरेको जाहेरी बमोजिम सरकारी वकिल कार्यालयबाट अन्य दफाहरुमा मुद्धा अभियोग नलगाइएको र थप अभियोग लगाउनका लागि कार्यविधिको दफा ३५ बमोजिम सर्वोच्च अदालतमा रिट निवेदन दिने बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार