नेकपाको केन्द्रीय बैठकमा आजदेखि समूहगत छलफल

काठमाडौं,
माघ १६ ।

बुधबारदेखि राजधानीमा शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुने छ । राजधानीको राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा आजदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभागले जनाएको हो ।

महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरे । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे ।

बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि केहीबेरलाई स्थगित भएर पुनः बैठकको बन्दसत्र शुरु भएको थियो ।

छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ-आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ । बैठक बुधबारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार