काठमाडौं,
माघ १५ ।
चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको चलचित्र ‘सेन्टी भाइरस’को बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्म भित्रको मुख्य केही अंश समेटिएको छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।
सिताराम र कुञ्जनाको अलवा चलचित्रमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । सुबिहानी फिल्मस् प्रा.ली.को ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।
चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने सहनिर्मातामा फूर्पा लामा रहेका छन् । शैलेन्द्र डी कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको यो चलचित्र फागुन ९ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।






