काठमाडौं,
पुष २७ ।
हल सञ्चालक तथा वितरतकहरुको साझा संस्था नेपाल चलचित्र चलचित्र सङ्घको अध्यक्षमा मधुसुधन प्रधान चयन भएका छन् । सङ्घको ४६ औं वार्षिक साधारणसभाबाट प्रधान अध्यक्षमा निर्विरोध रुपमा प्रधान चयन भएका हुन् । प्रदिपकुमार उदय नेतृत्वको अघिल्लो कार्यसमितिमा द्वितिय उपाध्यक्ष रहेका प्रधान सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । शुक्रबार राजधानीमा सम्पन्न चुनावी साधारणसभाले प्रधानसँगै १३ जना सदस्यलाई निर्विरोध रुपमा चयन गरेको हो ।
निर्विरोध चयन हुने सदस्यहरुमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्दबहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश कटुवाल, त्रिरत्न मानन्धर, निरज गुप्ता रहेकाछन् ।
यसै मध्यबाट सङ्घको पहिलो बैठकले हाल चुनिएका सदस्यहरुबाट सहमतिमा कार्य विभाजन गर्नेछ । यस्तै पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा. सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन् ।
साधारणसभालार्इ सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए । निवर्तमान अध्यक्ष उदयको अध्यक्षतामा भएको साधारणसभामा मन्त्री बाँस्कोटा प्रमुख अतिथि रहेका थिए भने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिका मेयर विधासुन्दर शाक्यलगायत फिल्मसँग सम्वद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






