काठमाडौं,
पुष २५ ।
चलचित्र ‘पर्खी बसें २’ निर्माण हुने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसें २’ निर्माण गर्ने भएको हो ।
गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच बिहीबार चलचित्र ‘पर्खी बसें २’ निर्माण गर्ने समहमति भएको हो । चलचित्रमा नीकिता र विनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताको रुपमा रहनेछन् ।
२०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।
चलचित्रलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । चलचित्रमा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजनागर्दै सार्वजनिक गर्ने तयारीमा टीम रहेको छ ।
पहिलो सिरिज जस्तै दोस्रोमा पनि साङ्गीतिक प्रेम कथा देखाइने सौरभले बताए । ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शकमाँझ आउँन लागेको हो ।






