काठमाडौं,
मंसिर ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले बुधबार अबेर नयाँ नियुक्त मन्त्रीहरुको नामावाली सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।


हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।
त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।
यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन् । यसअघिका मन्त्री गोकर्ण विष्ट हटाइएका छन् । बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको बिदाइ भएको छ ।
उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।
तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त मन्त्रीहरुको बिहीबार (आज) बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।






