काठमाडौं,
असोज २७ ।
नेपाली काँग्रेसको चियापान समारोह तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए । कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका नेता एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए ।
शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।






