काठमाडौं,
असोज ८ ।
नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समापन भएको छ । गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी समापन भएको हो ।
समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा काँग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभा भएको पार्टी कार्यालयले जनाएको छ । विरोध प्रदर्शन मूलतः बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत(, महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहेका थिए । यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइएकोे थियो । समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गरेका छन् ।
जागरण अभियानको यसअघिका १४ दिनमा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो । जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा एक सय ६ बिरुवा वृक्षरोपण गरिएको थियो ।
यसअघि काँग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुनेछ ।






