काठमाडौं,
असोज ५ ।
गीतकार तथा म्युजिक भिडियो निर्देशक जीवन मुकारुङ गायक अवतारमा आएका छन् । दुई गीतिएल्बम र एउटा गीतसङ्ग्रहको पुस्तक प्रकाशन गरिसकेका लोकप्रिय गीतकार मुकारुङ ‘लेकलेकै गाउँछ जुनेली रात दसैँ पो आयो कि, वर्ष र दिनको रमाइलो चाड एक्लै पो जान्छ कि, ए जुनेली रातैमा, फर्केर आऊ ए परदेशी यो सालको दसैँमा !’ बोलको गीतमार्फत् गायक बनेका हुन् ।
उक्त गीतमा परदेशी पतिलाई गाउँघरमा रहेकी पत्नीले दसैँमा जसरी पनि घर आउन आग्रह गरेकी छन् भने पतिले चाहिँ डिउटीका कारण विदा नपाएकाले यसपालि घर आउन नसक्ने परिस्थिति रहेको सुनाउँछन् ।
मुकारुङलाई लोकप्रिय गायिका जुनी खालिङ राईले गायनमा साथ दिएकी छन् । जीवन खालिङ राईको शब्दमा कृष्णभक्त राईको सङ्गीत रहेको गीत श्रुतिमधुर रहेको छ ।
गायक मुकारुङ लामो समय सिङ्गापुर पुलिसको सेवापश्चात अवकाश लिएर हालै मात्र नेपाल आएका हुन् । हाल उनी गीत लेखनका साथसाथै म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । अब गायक पनि बनेका छन् ।






